भक्तपुर, नेपाल मजदुर किसान पर्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले चुरे संरक्षणका लागि सबै उत्तिकै सक्रिय हुनुपर्ने बताउनुभएको छ। भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘ङाँतापोल्हँ जीर्णोद्धार २०७७’ पुस्तकको आज भर्चुअलरुपमा सार्वजनिक गर्दै उहाँले भन्नुभयो, “चुरे पहाड नेपालको महत्वपूर्ण प्राकृतिक स्रोत हो, यसको संरक्षण गर्नु आवश्यक छ तर चुरे दोहनमा वर्तमान सरकार मात्रै नभई अघिल्ला सरकारहरु पनि जिम्मेवार रहेका छन्, यसमा विदेशी स्वार्थ रहेको प्रष्ट छ।” पाँचतले मन्दिर र अन्य साँस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाहरु मानव जातिको शिल्प, कला र विश्व शान्तिको निम्ति एक महत्वपूर्ण शिक्षालयको रुपमा रहेको बताउनुभयो।
अध्यक्ष बिजुक्छेँले योग्यता र अनुभवविना मन्त्री बनाउने प्रचलनका कारण मन्त्रालयहरु लथालिंग रहेको बताउँदै सरकारमा गएका राजनीतिक पार्टीले सही काम गर्न नसक्दा देश आर्थिक र राजनीतिक रुपमा झन् पछाडि धकेलिएको आरोप लगाउनु भयो।
कुनै पनि नयाँ भौतिक निर्माण गर्दा त्यहाँ रहेका प्राकृतिक स्रोतबारे अध्ययन अनुसन्धान गर्नुपर्ने आवश्यकता रहेको बताउनुहुँदै अध्यक्ष बिजुक्छेँले भक्तपुर नपाले यहाँका मुख्य–मुख्य स्मारकबारे अध्ययनलाई चालु राख्नुपर्ने र पाठ्यक्रममा पुरातत्व विषयलाई समेट्न आवश्यक पहल गर्नुपर्ने बताउनुभयो।
पाँचतले मन्दिरबारे प्रस्तुत प्रतिवेदन दस्तावेजको रुपमा रहेको बताउनुहुँदै उहाँले ख्वप इन्जिनियरिङ कलेजमा अध्ययनरत इन्जिनियर तथा प्राविधिकहरुलाई दक्ष बनाउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले आजभन्दा ३२० वर्ष अगाडि बनेको पाँचतले मन्दिरको दोस्रो पटकको जीर्णोद्धार भक्तपुर नपाले जनताको सहभागितामा उपभोक्ता समितिमार्फत पारदर्शी ढंगले गरेको बताउनुभयो। उहाँले दरबार क्षेत्रमा ९९ चोक उत्खनन् गर्नुपर्ने, भक्तपुरको पुरानो नपाको भवन, कला संग्रहालय जीर्णोद्धार गर्नुपर्नेलगायतका ठूला योजनामा नपाले पहल गर्ने विश्वास व्यक्त गर्नुभयो।
नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सम्पदा पुनःनिर्माण र जीर्णोद्धार अरुको सहयोगमा भर परेर नभई आफ्नै पौरखले सम्पन्न गर्नुपर्ने भावनासहित सम्पदा पुनःनिर्माण र जीर्णोद्धारका काम प्रचलित कानुनले दिएको अधिकार प्रयोग गरी जनताकै सहयोग र सहभागितामा मौलिक शैलीमै सम्पन्न गर्न निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
-रासस