• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

चेपाङ गाउँमा क्याप्टेन श्रेष्ठको पहलमा राहत वितरण

  • OVN
  • June 09, 2021
चेपाङ गाउँमा क्याप्टेन श्रेष्ठको पहलमा राहत वितरण

धादिङ,  तिन महिनादेखि अनिकाल र भोकमरीमा परेका  धादिङको बेनिघाटरोराङ गाउँपालिका–८ स्थित चेपाङ बस्तीमा आज राहत वितरण गरिएको छ। यति एयरलाइन्सका पाइलट क्याप्टेन रमेश श्रेष्ठको पहलमा सो गाउँका १२० परिवारलाई स्थलमै पुगेर चामल दाल, नुन र तेल वितरण गरिएको हो। 

सो गाउँमा खानेकुरा अभावपछि कोही जंगलमा गिट्ठा खोज्न जाने, कोही खोलातिर माछा मार्न जाने तथा कोही टाँकीको मुन्टा र सिस्नु टिपेर छाक टार्न बाध्य भएको समाचार यही जेठ २२ गते राससमा सम्प्रेषण भएको थियो। समाचार पढेर सहयोगीहरुबाट खाद्यान्न संकलन गरी वितरणका लागि ल्याइएको क्याप्टेन श्रेष्ठले बताउनुभयो। गत वर्षको बन्दाबन्दीको समयमा पनि श्रेष्ठको पहलमा विभिन्न विमान चालक र समाजसेवीको सहयोगमा काठमाडौँमा विभिन्न स्थानका मजदुरलाईकरीब रु ३५ हजार बराबरको राहत वितरण भएको थियो।
 
कार्यक्रममा नेपाल चेपाङ चेपाङ सङ्घ, धादिङका अध्यक्ष भीमबहादुर चेपाङ, वडाध्यक्ष वीरबहादुर श्रेष्ठलगायतले राहत वितरण गर्दै गाउँपालिकाले समेत चेपाङ गाउँमा खाद्यान्न वितरण गरेको र दाताहरुको सहयोगले स्थानीय सरकारलाई सहयोग पुगेको बताउनुभयो। कोरोना महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण मजदुरी गर्न जाने अवस्था नभएको र घरमा खाने अन्न समेत नभएपछि गाउँबासी तिनचार दिनमा एक छाक खोले वा ढिँडो खाने गरेको अध्यक्ष चेपाङको भनाइ छ।

गाउँपालिकाले वर्षभरी आफ्नो उत्पादनले खान नपुग्नेका लागि उचित व्यवस्थाको योजना बनाउन नसकेकोले यस किसिमको अवस्था आएको चेपाङ अगुवाहरुले जनाएका छन्।
 
सो वडाभरमा  ३ सय ५० चेपाङ परिवारले गिठ्ठा, टाँकी,सिस्नुको सागले गत  चैतदेखि साउनसम्म छाक टार्ने गरेको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो। गत वर्ष महामारीकै कारण रसायनिक मल अभाव हुँदा चेपाङहरुले मकैमा मलसमेत हाल्न पाएका थिएनन्। मल नहालेका कारण मकै उत्पादन कम भयो। यस वर्ष पनि मल ल्याउन नसकेपछि अर्को वर्ष झनै समस्या हुने अवस्था रहेकाले गाउँपालिकाले यसतर्फ ध्यान दिएर पहल गर्नुपर्ने अध्यक्ष चेपाङको भनाइ छ।
-रासस

Comments