• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

चन्दा सङ्कलनबाटै सभाहल निर्माण

  • OVN
  • November 06, 2021
चन्दा सङ्कलनबाटै सभाहल निर्माण

म्याग्दी- बेनी नगरपालिका–७ मा चन्दा सङ्कलनबाटै आठ सय जना क्षमताको सभाहल निर्माण गरिएको छ । नेपाल भाषा मंकाःखल म्याग्दीले सामुदायिक प्रयोजनका लागि उक्त सभाहल निर्माण गरेको हो । 

खलका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले रु ३५ लाख चन्दा सङ्कलन गरेर सभाहल निर्माण गरिएको जानकारी दिनुभयो । “संस्थाका पदाधीकारी र सदस्यबाट जुटाएको रकमले भवन ठडयाएका हौँ”, उहाँले भन्नुभयो, “हालसम्म सरकारी सहयोग मागेका छैनौँ । व्यक्तिगत रुपमा सहयोग प्राप्त भइरहेको छ ।” झण्डै २९ आना क्षेत्रफलको जग्गामा सभाहल र शौचालय निर्माण गरिएको छ । सभाहल परिसरमा पर्खाल लगाएर घेराउ गरिएको छ । रङ्गरोगन, फर्निचर, बिजुली, पानी जडानलगायत काम बाँकी छ । निर्माणको काम गत असारमा थालिएको हो । आगामी पुसभित्र सबै काम सम्पन्न हुने श्रेष्ठले बताउनुभयो । 

नेवार समुदायको अगुवाइमा उक्त सभाहल निर्माण गरिएको हो । सो सभाहल सबैले प्रयोग गर्न पाउने  मंकाः खलका पूर्वअध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । बेनी बजारमा सभा समारोह, भोज भतेर आयोजना गर्दा सभाहलको अभाव भएकाले सामाजिक आवश्यकता महशुस गरी भाहल बनाएको बेनी नगरपालिका–७ का वडा अध्यक्ष समेत रहनुभएका श्रेष्ठले बताउनुभयो । यहाँस्थित होटलमा पनि सभाहलको अभाव छ । 

सभाहल निर्माणका लागि स्व चन्द्रशेखर श्रेष्ठको परिवारले चार आना र स्व काशीप्रसाद श्रेष्ठको परिवारले पाँच आना जग्गा उपलब्ध गराउनुभएको थियो । थप २० आना जग्गा खरिद गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । नेपाल संवत ११४२ का अवसरमा अमेरिकामा रहेका दलप्रसाद श्रेष्ठ र पुष्पा श्रेष्ठले रु तीन लाख ३३ हजार तथा तारा श्रेष्ठ जोशी र कृष्णबाबु जोशीले सभाहल निर्माणका लागि रु एक लाख १५ हजार उपलब्ध गराउनुभएको छ । 
-रासस
 

Comments