काठमाडौं । बेमौसमी वर्षाका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई राहत उपलब्ध गराउने मापदण्ड, स्वीकृत भएको वर्ष दिन बित्दासमेत क्षतिपूर्ति पाएका छैनन् ।
मापदण्ड अनुसार, पूर्ण क्षति पुगेका साना किसानलाई लागतको ६५ प्रतिशत, मध्यम किसानलाई २० प्रतिशत र आंशिक क्षति पुगेका मध्यम वा साना किसानलाई उत्पादन लागतको २० प्रतिशत राहत उपलब्ध गराइने भनेको थियो । तर, २०७८ सालमा क्षति ब्यहोरेका किसानले अझै क्षतिपुर्ति पाएका छैनन् । सरकारले एक वर्ष अघि नै पारित गरेको मापदण्डमा क्षतिपूर्ति वितरणका लागि लगत सङ्कलन गर्ने जिम्मा स्थानीय सरकारलाई दिँदै किसानको बैङ्क खातामार्फत रकम भुक्तानी गर्ने उल्लेख छ ।
जस अनुसार किसानले क्षतिको विवरण र बैङ्क खाता स्थानीय सरकारलाई उपलब्ध गराइसकेका छन् । तर पनि सबै किसानले राहत भने पाएका छैनन् । केही स्थानीय तहले क्षतिपूर्तिको पहिलो किस्ता उपलब्ध गराएका छन् । प्रभावित ६ सय ३१ मध्ये ६ सय २२ जना किसानले ३० हजारका दरले पहिलो किस्ता पाए पनि दोस्रो किस्ताको रकम अझै नआएकाले वितरण गर्न नसकेको बुटवल उपमहानगरपालिको कृषि शाखाका प्रमुख सन्तोष जीसीले बताउनुभयो ।
पोहोरको असोज २८ देखि कात्तिक ५ गतेसम्म परेको बेमौसमी वर्षाले २ लाख ८५ हजार हेक्टरको धानबालीमा क्षति पु-याउँदा ८ अर्ब २६ करोड ८० लाख रुपैयाँको क्षति भएको थियो । जसवापत सरकारले किसानलाई ५ अर्ब ५२ करोड रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरे पनि अहिलेसम्म १ अर्ब रूपैयाँ मात्र विनियोजन भएको छ । त्यो रकम पनि सबै किसानसम्म पुगेको छैन ।