• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

बीमा दाबीको प्रक्रिया झन्झटिलो हुँदा बीमा प्रति किसानको आकर्षण बढेन

  • OVN
  • February 01, 2023
बीमा दाबीको प्रक्रिया झन्झटिलो हुँदा बीमा प्रति किसानको आकर्षण बढेन

प्यूठान । बीमा दाबीको प्रक्रिया झन्झटिलो हुँदा कृषि बीमा प्रति प्यूठानका किसानको आकर्षण बढ्न सकेको छैन । 

बालीनाली र पशुपालनमा किसानले ब्यहोर्नु पर्ने सम्भावित क्षतिको जोखिम कम गर्न सरकारले कृषि बीमा कार्यक्रम लागु गरेको छ । बीमा गर्न इच्छुक किसानलाई बिमाङ्कको ८० प्रतिशत रकम सरकारले व्यहोर्ने भए पनि बीमा दाबीको प्रक्रिया झन्झटिलो भएका कारण किसानहरू कृषि बीमा कार्यक्रम प्रति आकर्षित नभएका हुन् । 

प्यूठान नगरपालिका ८ टिकुरीका मौरीपालक किसान डिमराज पाखरेलले चरणका लागि कपिलवस्तु लगेको बेला मौरी मरेपछि बीमा दाबी गरे पनि निक्कै झन्झट व्यहोर्नु परेको गुनासो गर्नुभयो । गत वर्ष पाएको दुःखकै कारण यस वर्ष मौरीको बीमा नगरेको उहाँको भनाइ छ ।  

बीमा गर्दा विमाङ्कको ८० प्रतिशतसम्म सरकार र बाँकी २० प्रतिशत किसानले बेहोर्नु पर्छ । कृषि बीमाका लागि बीमा कम्पनीलाई आग्रह गरेपनि चासो नदिने किसानको गुनासो छ । जिल्लामा कृषि बीमा गर्ने किसानको सङ्ख्या धेरै भएपनि प्यूठानमा बीमा कम्पनी नभएको र कम्पनीका जिल्लास्थित प्रतिनिधिले चासो नदेखाएको नेपाल मौरीपालक महासङ्घ प्यूठान शाखाका सचिव मधुसुदन भण्डारीले बताउनुभयो । 

बीमा सम्झौतासम्मको समय सिमा भित्रै किसानलाई क्षति भएमा बीमा कम्पनीले अधिकतम ९० प्रतिशतसम्म क्षतिपूर्ति दिने गर्छ । तर क्षतिपूर्तिको रकमका लागि किसानले पाउने रकमभन्दा बढी खर्च गर्नुपर्ने झन्झटिलो प्रक्रिया रहेको गुनासो गरेका छन् । 
 

Comments