• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

बेल्जियमलाई २–१ ले हराउँदै इटली युरोकपको सेमिफाइनलमा

  • OVN
  • July 03, 2021

इटाली युरो २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार विहान सम्पन्न क्वार्टरफाइनलको खेलमा बेल्जियमलाई २-१ गोलले पराजित गर्दै इटाली अन्तिम चारमा पुगेको हो। 

अब फाइनल प्रवेशका लागि इटालीले आगामी मंगलबार स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि स्पेनले स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो। 

बेल्जियमविरुद्ध भएको खेलमा इटालीले पहिले अग्रता लिएको थियो। खेलको ३१ मिनेटमा निकोलो बरेलाले गोल गर्दै इटालीलाई अग्रता दिलाए। 

भेराटीले दिएको पासमा मिडफिल्डर बरेलाले बललाई गोलपोस्टको दिशा दिएका थिए। 

खेलको ४४ मिनेटमा इटालीले अग्रता दोब्बर पारे। लोरेन्जो इनसाइनले इटालीका लागि दोस्रो गोल गरे। उनले उत्कृष्ट फिनिसिङ गर्दा बेल्जिमयका गोलकिपरले रोक्ने कुनै मौका नै पाएनन्। 

त्यसअघि इटालीका चिएसा र इमोबिलले गोल गर्ने अवसर गुमाएका थिए।

पहिलो हाफको इन्जुरी टाइममा बेल्जियमले गोल फर्कायो। पेनाल्टीमा लुकाकुले गोल गर्दा खेल २-१ को अवस्थामा आयो। 

डि लोरेन्जोले बेल्जियमका डोकुलाई तानेपछि भिएआरमार्फत पेनाल्टी दिइएको थियो।

दोस्रो हाफमा बेल्जिमयले बराबरी गर्ने अवसर गुमाएको थियो। ६१ मिनेटमा लुकाकुको प्रहार विफल भएको थियो। यस्तै डोकु पनि प्राप्त अवसरमा चुके।

जितसँगै इटालीले आफ्नो अपराजित खेल संख्या ३२ खेलसम्म लम्ब्याउँदै नयाँ राष्ट्रिय रेकर्ड बनायो। यो इटाली सर्वाधिक खेलमा अपराजित रहेको खेल संख्या हो। 

युरो २०२० को समूह चरणमा शतप्रतिशत जित निकालेसँगै इटालीले अन्तर्राष्ट्रिय खेलमा आफ्नो अपराजित खेल संख्या ३० पुर्‍याएको थियो। जससँगै इटालीले अपराजित खेल संख्यामा आफ्नो राष्ट्रिय रेकर्डसँग बराबरी गरेको थियो।

अन्तिम १६ मा अस्ट्रियलाई हराएपछि इटालीले नयाँ रेकर्ड बनाएको थियो। जुन रेकर्ड बेल्जियमलाई हराएसँगै भंग भएको छ। 

अहिले इटालीले सेप्टेम्बर २०१८ मा पोर्चुगलसँग पराजय भोगेपछि खेलेका ३२ अन्तर्राष्ट्रिय खेलमा हारेको छैन। 

१० अक्टोबर २०१८ मा पोर्चुगलसँग १-० गोलले पराजित भएपछि इटालीले २७ खेलमा जित हात पारेको छ भने ५ खेलमा बराबरीमा रोकिएको छ।

यस्तै इटालीले सन् २०२१ मा खेलेका सबै खेलमा जित हात पारेको छ।

इटालीले सन् २०२१ मा १० खेल खेलेको छ।  इटालीले ती खेलमा २८ गोल गरिसकेको छ।

अपराजित खेल संख्याको रेकर्ड भने ब्राजिल र स्पेनको संयुक्त नाममा छ। दुवै टिमले लगातार ३५ खेलसम्म पराजय भोगेका थिएनन्। 

दोस्रो स्थानमा अब इटाली पुगेको छ। इटालीले अर्जेन्टिनालाई पछि पार्‍यो। अर्जेन्टिनाले सन् १९९१ देखि १९९३ को बीचमा ३१ खेलमा पराजय भोगेको थिएन।

Comments