• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

बाजुरामा दुई करोड बढीका अन्नबालीमा क्षति

  • OVN
  • November 09, 2021
बाजुरामा दुई करोड बढीका अन्नबालीमा क्षति

बाजुरा- गत असोज ३१ देखि यही कात्तिक २ गतेसम्म परेको अविरल वर्षाका कारण जिल्लामा दुई करोडभन्दा बढीको क्षति भएको छ । जिल्लाका दुई हजार २०९ कृषकका ३९२ हेक्टर क्षेत्रफलमा लगाइएको ९४० मेट्रिक टन धान र कोदो बालीको नोक्सानी भएको छ ।  

कृषि ज्ञान केन्द्रको तथ्याङकअनुसार रू दुई करोड ७१ लाख २५ हजार ५५० बरावरको बालीमा क्षति भएको हो ।  केन्द्रका सूचना अधिकारी मीनप्रसाद जोशीले जिल्लामा धान २५६ हेक्टरमा ७१५ मेट्रिक टन क्षति भएको जानकारी दिनुभयो । उहाँका अनुसार धानबालीको दुई करोड १४ लाख १८ हजार ८०० बराबरको क्षति भएको हो । त्यसैगरी कोदो १३६ हेक्टरमा लगाएको २२४ मेट्रिक टन क्षति भएको छ र यसको मूल्य रु ५७ लाख ६ हजार ७५० बराबरको भएको जनाइएको छ । अनुमानित तथ्याङ्क सङ्कलन गरी कृषकलाई उचित राहत तथा क्षतिपूर्तिका लागि सम्बन्धित निकायमा  पठाइएको सूचना अधिकारी जोशीले बताउनुभयो ।

सधैँजसो खाद्य संकट भोग्नुपर्ने जिल्लाले यस वर्ष थप चुनौती व्यहोर्नुपर्ने जनाइएको छ ।  

खाद्य डिपोमा चामल सकियो 

जिल्लाका मार्तडीमा रहेका खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडका डिपोमा चामल अभाव भएको छ । जिल्ला भरको खाद्यान्न सङ्कट समाधानका लागि स्थापना भएको सो डिपोमा चामलको अभाव भएपछि चामल लिन पुगेका सेवा ग्राही रित्तो हात फर्किने गरेका छन् । 

खाद्य डिपोमा चामल यही कात्तिक १७ गतेसम्म वितरण भएको र यसपछि वितरण गर्न नसकेको लिमिटेड बाजुराका प्रमुख मेघराज ओझाले बताउनुभएको छ । डिपोमा चामल सकिएको जनाउँदै आकस्मिकबाहेक बिक्रीमा रोक लगाएको डिपो प्रमुख ओझाको भनाइ छ । 
-रासस
 

Comments