• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

भारतीय प्रधानमन्त्रीले छिट्टै नेपाल भ्रमण गर्ने

  • OVN
  • November 04, 2021
भारतीय प्रधानमन्त्रीले छिट्टै नेपाल भ्रमण गर्ने

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै नेपालको भ्रमण गर्नुहुने भएको छ । कोप सम्मेलनका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ताको क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपाल आउने आशय व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री देउवाले समकक्षी भारतीय प्रधानमन्त्रीसँग नेपाल भ्रमणबारे कुराकानी भएको र उहाँ नेपाल आउन उत्सुक रहनुभएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मैले भारतीय प्रधानमन्त्रीलाई तपाईँ नेपाल आउनुस् हामी स्वागत गर्छौँ भनेँ । नेपालका पशुपतिनाथ, मुक्तिनाथ घुम्न मैले आग्रह गरेँ, धार्मिक क्षेत्रहरुको भ्रमण पनि हुन्छ, आउनुस् भनेर मैले भनेको छु र उहाँले आफू नेपाल आउन तयार रहेको बताउनुभयो, मलाई पनि भारत भ्रमणमा आउनुस् भन्नुभएको छ ।”

पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले कोप सम्मेलनका दौरानमा छिमेकी मुलुक भारतलगायत विभिन्न मुलुकका नेताहरुसँग महत्वपूर्ण विषयमा छलफल भएको जानकारी दिनुभयो । उहाँका अनुसार विशेषगरी भारतसँग हवाई रुटका सम्बन्धमा विस्तृत कुराकानी भएको छ । भैरहवाको लुम्बिनीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि ‘एयरस्पेस’ का सम्बन्धमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल भएको छ ।

“गौतमबुद्ध विमानस्थलमा उडान गर्दा भारतको भूमि प्रयोग भएर उडान गर्नुपर्ने भएकाले एयरस्पेसको सम्बन्धमा कुराकानी भएको छ, यो लगायत अन्य विषयमा पनि राम्रो छलफल भएको र नेपालका निम्ति भारतको राम्रो सद्भाव देखिएको छ । भारतमा समेत युरिया मल अभाव रहेका बेला पनि नेपाललाई भारतले मल दिएर सहयोग गरेकोप्रति धन्यवाद दिएको छु”, प्रधानमन्त्री देउवाले भन्नुभयो ।

गौतमबुद्ध विमानस्थल शीघ्र सञ्चालनको तयारीमा छ । यो विमानस्थलमा एक महिनाभित्र क्लालिब्रेसन फ्लाइट गरेर त्यसको तीन महिनाभित्रै परीक्षण उडान हुने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
 
प्रधानमन्त्री देउवाले बेलायतका रक्षामन्त्रीसँगको छलफलको क्रममा नेपालप्रति धेरै ठूलो सद्भाव रहेको पाएको र गोरखा फौजको सङ्ख्या बढाउन सकारात्मक रहेको प्रक्रिया दिएको जानकारी दिनुभयो । “जुन बेलादेखिको गोरखाहरुको तलब बढेको छ, त्यही बेलादेखिको पेन्सन बढ्नुपर्छ भनेर कुराकानी भएको छ । बेलायतका प्रधानमन्त्रीसँगको छलफलमा पनि गोर्खाजको विषयमा सकारात्मक कुराकानी भएको छ”, उहाँले भन्नुभयो । सम्मेलनकै क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग पनि नेपालको सम्बन्धका बारेमा संक्षिप्त कुराकानी भएको जानकारी प्रधानमन्त्री देउवाले दिनुभयो ।
 
 उता सम्मेलनलाई सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनको जोखिम न्यूनीकरणबारे जोडदारका साथ कुरा उठाएको बताउनुभयो । कार्बन ग्यास घटाउने, अक्सिजन बचाउने र कार्बन उत्सर्जन घटाउनेबारे कुरा उठाएको उहाँले बताउनुभयो । जलवायु परिवर्तनको जोखिमको बढी असर नेपालमा परेको र बाढी, पहिरोजन्य विपद्का घटना बढेकोप्रति ध्यानकर्षण गराउँदा अन्य मुलुकले चासो लिएको प्रधानमन्त्री देउवाले जानकारी दिनुभयो ।
– सिबी अधिकारी, रासस

Comments