सर्लाही । भारतीय गोलभेँडा नेपाली बजारमा भित्रिँदा किसान समस्यामा परेका छन ।
सर्लाहीको लालबन्दी बजारबाट तरकारी निकासी हुने देशका मुख्य बजारमा हिजोआज भारतीय गोलभेँडा छ्यापछ्याप्ती पाइन्छ । त्यस कारण नेपाली किसानको उत्पादनले बजार पाउन सकेको छैन । जिल्लाका किसानले गोलभेँडा प्रतिक्रेट अर्थात २५ किलो गोलभेँडा १ सय ५० देखि २ सय रुपैयाँमा बेच्न बाध्य छन् ।
यसरी प्रतिकिलो ६ देखि आठ रुपैयाँमा बेच्नुपर्दा लागत नै उठाउन मुस्किल भएको लालबन्दी नगरपालिका–१० का प्रेम श्रेष्ठले गुनासो गर्नुभयो । सरकारले भने किसानको उत्पादन र बजारिकरणका लागि विभिन्न कार्यक्रम कार्यान्वयनमा ल्याएको दाबी गरेको छ । तर किसानले सुविधा नपाएको गुनासो गरिरहेका छन् ।
कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन महाशाखा प्रमुख सवनम शिवाकोटी अर्यालले सरकारले कृषि उपज खरिद गर्न सम्भव नभए पनि गोलभेँडाबाट बन्ने अन्य उत्पादनलाई बढाउन प्राथमिकता दिइरहेको बताउनुभयो । आफ्नो देशको उत्पादन खाने र उत्पादन बढाउने अभियान समेत सरकारले सञ्चालन गरिरहेको बताउनुभयो ।
नजिकको सरकारका रुपमा स्थानीय तह भए पनि आफ्नो उत्पादनले बजार नपाउँदा पनि कुनै चासो नदिइएको गुनासो किसानको छ । छिमेकी मुलुकबाट हुने आयातसँग प्रतिस्पर्धा गर्नेगरी सङ्घ र प्रदेश सरकारले सुविधा दिनुपर्नेमा किसानहरूको जोड छ ।