सिन्धुपाल्चोक । खानेपानी मन्त्री अब्दुल खानले बाह्रै महिना मेलम्चीको पानी काठमाडौँबासिले खान पाउनेगरी काम भइरहेको बताउनुभएको छ ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका—१ अम्बाथान स्थित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल निरीक्षणका लागि पुग्नु भएका मन्त्री खानले आयोजना नियमित सञ्चालनको लागि लाग्ने खर्च र प्राविधिक विषयबारे छलफल गर्दै छोटो प्रक्रियाबाट काम गर्ने बताउनुभएको हो ।
मन्त्री खानले बजेट बक्तव्यमार्फत भङ्ग गरिएको मेलम्ची खानेपानी विकास समितिमा देखिएकोे नीतिगत समस्यालाई हल गर्दै कर्मचारीहरूको समस्यालाई पनि सम्बोधन गर्ने बताउनुभयो ।
सोही क्रममा उहाँले स्थानीयवासिहरूबाट उठेका मागलाई समेत उच्च प्राथमिकतामा राखेर काम गर्ने धारणा राख्नुभयो । मेलम्ची खानेपानी विकास समितका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले मेलम्ची खानेपानी आयोजनामा हालसम्म भएको लगानी, २०७८ असारमा गएको बाढीले पु¥याएको क्षति र नियमित आयोजनामा सञ्चालनको लागि गर्नुपर्ने कामहरूका विषयमा समेत विस्तृत जानकारी दिनुभएको थियो ।
२०७८ असार १ र साउन १७ गतेको मेलम्ची बाढीले मेलम्ची खानेपानी आयोजनामा करिब दुई अर्वको क्षति पुगेको पूर्वानुमान गरिएको छ ।