काठमाडौं । हिजो राष्ट्रपतिको सवारका क्रममा चिकित्सकमाथि कुटपिट भएको भन्दै यसको विरोधमा नेपाल चिकित्सक सङ्घले भोलि आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ ।
आज बसेको सङ्घको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले भोली देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठान लगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरेको हो ।
लोकका लागि स्थापित गरिएको लोकतान्त्रिक गणतन्त्रमा नागरिकलाई सास्ती दिने सवारीको नाममा अस्वभाविक सुरक्षाको प्रबन्ध मिलाउने भन्दै घण्टौं जाम गरेर दैनिक जीवन यापनमा अत्यन्तै असहज परिस्थितिको सिर्जना गर्नु न्यायोचित नभएको नेपाल चिकित्सक सङ्घको ठहर छ ।