• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

भागबन्डा मिलाउनका लागि मन्त्रालय नफुटाउने सत्ता गठबन्धनको निर्णय

  • OVN
  • January 05, 2023
भागबन्डा मिलाउनका लागि मन्त्रालय नफुटाउने सत्ता गठबन्धनको निर्णय

काठमाडौं । सत्तारुढ गठबन्धनले भागबन्डा मिलाउनका लागि मन्त्रालय नफुटाउने भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकले मन्त्रालय नफुटाउने सहमति गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिनुभयो । उहाँले राप्रपालाई सरकारमा सहभागी गराउन मन्त्रालय फुटाउन लागिएको हल्ला पनि निराधार भएको बताउनुभयो । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री रवि लामिछाने, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको सहभागिता रहेको थियो । 

प्रधानमन्त्री प्रचण्डले सत्तारुढ गठबन्धनमा रहेका दलहरुलाई भाग पु-याउनका लागि २२ वटा मन्त्रालयबाट विभाजन गरेर २५ वटा पु-याउने तयारी गर्नुभएको थियो । सो तयारीको विभिन्न क्षेत्रबाट आलोचना भएको थियो । नयाँ संविधानअनुसार मन्त्रिपरिषद् २५ सदस्यीयभन्दा ठूलो बनाउन मिल्दैन । संविधानले नै राज्यमन्त्रीसहित अधिकतम २५ जनाको मन्त्रिपरिषद् हुनुपर्ने सीमा तोकिदिएको छ । 

सोही कारण मन्त्रालय फुटाउने विषयमा सत्ता गठबन्धनकै दलहरू सन्तुष्ट थिएनन् । यसैबीच गठबन्धनको बैठकमा आज साझा न्यूनतम कार्यक्रमलाई अन्तिम रुप दिने सहमति भएको छ । विष्णु पौडेलको संयोजकत्वमा गठन गरिएको मस्यौदा समितिले आजसम्मको समय माग गरेको थियो, सोही अनुसार निर्णय भएको छ । 
 

Comments