• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

बाढीले यातायात सेवा अवरुद्व

  • OVN
  • October 19, 2021
बाढीले यातायात सेवा अवरुद्व

सिन्धुपाल्चोक- अविरल वर्षासँगै आएको बाढीका कारण ह्युमपाइप राखेर बनाइएको बाटोमा क्षति हुँदा यातायात सेवा अवरुद्व भएको छ ।

गत असार १ र त्यसपछिको बाढीले पक्की पुल बगाएपछि हेलम्बुको चनौटे, मेलम्चीको फट्टे र ईन्द्रावती, पाँचपोखरी जोड्ने मेलम्ची तल्लो बजारमा ह्युपाइप राखेर बनाइएको बाटोमा क्षति पुगेको हो ।

 गए रातिको वर्षाले चनौटेको ह्युपाइप राखी बनाइएको बाटो बगाएको स्थानीयवासी शशी बरुवालले जानकारी दिनुभयो । बाटो बगाएपछि चनौटेबाट हेलम्बु , किउल, पाल्चोक सडक अवरुद्व भएको छ । 

यस्तै मङ्गलबार मर्मत गरिएको फट्टेमा गएरातिको वर्षाले क्षति गर्दा मोटरसाइकल मात्र चल्ने अवस्था रहेको स्थानीयवासी दशरथ दनुवारले जानकारी दिनुभयो । ह्युपाइप राखेर बनाइएको बाटोमा क्षति गर्दा पाँचपोखरी वडा १ र २ मेलम्ची ७ र ८ हेलम्बु २ र ३ यातातातबाट वञ्चित भएको छ ।

 इन्द्रावती, पाँचपोखरी जोड्ने मेलम्ची तल्लो बजारमा  ह्युमपाइप राखेर बनाइएको बाटो तीन दिनदेखि बन्द छ । यहाँबाट इन्द्रावती, पाँचपोखरी र मेलम्चीका ९ र १० वडामा यातायात सेवा प्रभावित भएको छ । वर्षा रोकिएपछि मर्मत थाल्ने उपभोक्ता समितिका अध्यक्ष तारा बानियाँले बताउनुभयो । सडक बन्द हँुदा दसैँ मनाउन आएका यात्रु प्रभावित भएका छन् । 
-रासस
 

Comments