• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

बाढीले विद्यालय बगाएपछि विद्यार्थीलाई पढाइको चिन्ता

  • OVN
  • June 26, 2021
बाढीले विद्यालय बगाएपछि विद्यार्थीलाई पढाइको चिन्ता

मनाङ- अविरल वर्षापछि आएको बाढीले जिल्लाका मनाङका विभिन्न विद्यालय बगाएपछि अभिभावक, शिक्षक र विद्यार्थी अन्यौल बनेका छन्। जिल्लामा रहेका चार माध्यमिक विद्यालयमध्ये तीन विद्यालय बाढी पहिरोबाट प्रभावित भएको छ। 

सदरमुकाम चामेस्थित लोकप्रिय माध्यमिक विद्यालयको भवन मस्र्याङ्दी नदीको कटानले जोखिममा पुगेको छ। मस्र्याङ्दी नदीमाथिको पक्की पुलले नदीको धार परिवर्तन हुँदा विद्यालयको भवनतर्फ कटान गरी भवन जोखिममा छ। यी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई कहिलेदेखि अध्ययन शुरु हुने हो भन्ने चिन्ता थपिएको छ।  

थोंचेस्थित प्रकाश ज्योति माध्यमिक विद्यालयका कक्षा ८ मा अध्ययनरत मनोज गुरुङ भन्नुहुन्छ, ‘‘हाम्रो त न गाउँ रहेको छ न त विद्यालय, अब पढ्न पनि आफ्नै जिल्लामा बसेर पढ्न नपाइने भयो।’’ बाढीले उहाँले अध्ययन गर्ने विद्यालयको निशान मात्रै रहेको छ। 

कक्षा ९ मा अध्ययनरत प्रिया गुरुङ अब जिल्लामा घर नजिकै बसेर पढ्न पाउने अधिकार नै बाढीले छिनेको बताउनुहुन्छ । मनाङका विद्यार्थीले घरबार गुमाउनुका साथै विद्यालय पनि बगाएपछि शिक्षाबाट वञ्चित भएको प्रिया बताउनुहुन्छ। 

नासों गाउँपालिका–१ तालगाउँस्थित भानु माध्यमिक विद्यालय मस्र्याङ्दीको बाढीको डुबानमा छ। गाउँ नै डुबानमा रहेकाले विद्यालय जोगिन सक्ने अवस्था नरहेको स्थानीय बताउँछन् । जिल्लामा भएको चार माध्यमिक विद्यालयमध्ये एउटामा मात्रै बाढी पहिराले क्षति नभएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख नारायण योगीले बताउनुभयो। 

विद्यालयको भौतिक संरचना पूर्णरुपमा क्षति भएकाले मर्मत तथा निर्माणमा समय लाग्न सक्ने योगीले बताउनुभयो । संरचना र विद्यालयको भवन नभएपछि अध्ययनका लागि नै अन्यत्र पठाउनुपर्ने समस्या मनाङवासीलाई थपिएको छ। मनाङका सबै माध्यमिक विद्यालयमा आवासीय सुविधा रहेको छ। 
-रासस

Comments