• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

बाढीले बेँसीशहर—चामे सडक अवरुद्ध

  • OVN
  • June 15, 2021
बाढीले बेँसीशहर—चामे सडक अवरुद्ध

लमजुङ- आइतबारदेखि निरन्तर वर्षाले आज बाढीसहित पहिरो जाँदा बेँसीशहर—चामे सडक, खेल मैदान र बङ्गुर बगाएको छ। मनाङ जोड्ने बेँसीशहर चामे सडकअन्तर्गत जिल्लाको बेँसीशहर नगरपालिका—६ स्थित खरखरे भीरमा सडक बाढी पहिराले बगाएको प्रहरीले जनाएको छ।
 
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीका अनुसार मस्र्याङ्दी नदीले सडक भासिएको छ भने सडक माथि भीरबाट ठूलाठूला ढुङ्गासहितको पहिराले सडक भासिन पुग्दा सडक अवरुद्ध भइरहेको छ। यहाँ करीब ३० मिटर सडक नै भासिएको छ। सडक अवरुद्ध भएपछि निषेधाज्ञाका बेला सञ्चालन हुने अत्याश्यक ढुवानीका साधन तथा सवारी साधन रोकिनु पर्ने भएको छ।
 
त्यस्तै मस्र्याङ्दी गाउँपालिका—४ रामबजारमा रहेको  बाघेता युवा क्लवको खेल मैदान मस्र्याङ्दी नदीले बगाएको छ। क्लबका अध्यक्ष विष्णु गुरुङका अनुसार नदीमा पानीको बहाव वृद्धि हुँदा १० मिटर जति खेलमैदान बगाएको र अझै खेल मैदान बगाउने क्रम जारी रहेको छ। खेल मैदान यसै वर्ष गण्डकी प्रदेश सरकारको रु २० लाख र मस्र्याङ्दी गाउँपालिकाको रु पाँच लाख गरी रु २५ लाखमा निर्माण गरिएको थियो। 
त्यस्तै, सोही वडाको जगतमा चन्द्रबहादुर गुरुङको बङ्गुर फार्मसहित ५०/५० किलोको दुई वटा बङ्गुर बगाएको वडाध्यक्ष सुमन गुरुङको भनाइ छ। निरन्तर परेको पानीले विभिन्न स्थानबाट बाढी आउनुका साथै मस्र्याङ्दी नदीलगायत खोलाहरुमा पानीको बहाव बढिरहेकाले अझै क्षति हुन सक्ने वडाध्यक्ष गुरुङको भनाइ छ। उहाँले भन्नुभयो, “भौतिक क्षति भएपनि हालसम्म मानवीय क्षति भने हुन पाएको छैन।”

यस सडकखण्डमा पर्ने सोही वडाको रामबजार पनि बाढीले केही घरहरु उच्च जोखिममा परेको वडाध्यक्ष गुरुङले बताउनुभयो। यहाँ विसं २०७५ मा पनि केही स्थानीयवासीलाई बाढीले बगाएको थियो भने घरहरुमा क्षति पुगेको थियो। 

त्यस्तै, बेँसीशहर चामे सडकखण्डअन्तर्गत मनाङको नासोँ गाउँपालिका र चामे गाउँपालिका जोड्ने तिमाङ खोलामा रहेको बेली बिज्र समेत बगाएको मनाङबाट सुरेन्द्र बरालले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “साथै धारापानीको केही घरमा क्षति पुगेको छ भने, नासोँ गाउँपालिका—१ स्थित ताल बजारमा रहेको सबै घरहरु उच्च जोखिम बनाएको छ।” त्यहाँ रहेका सबै घरहरु मस्र्याङ्दी नदीले डुबाउन सक्ने खतरा बढेकाले त्यहाँका स्थानीहरुको उद्धार भइरहेको उहाँले बताउनुभयो। 
-जनक श्रेष्ठ, रासस

Comments