कञ्चनपुर- बाढीबाट प्रभावित शुक्लाफाँटा नगरपालिकाका ३६ परिवारलाई नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखाले गैरखाद्य, स्वास्थ्य, सरसफाई सामग्रीसँगै नगद वितरण गरेको छ ।
वनहरा शिविरमा बस्दै आएका २७ परिवार र वडा नं १२ का नौ परिवारलाई राहत सामग्री वितरण गरिएको हो । शाखाका कोषाध्यक्ष थिरेन्द्रचन्द्र भट्ट र रेडक्रस उपशाखा झलारीका सभापति शेरबहादुर साउदले संयुक्त रुपमा राहत सामग्री वितरण गर्नुभएको हो ।
वितरण गरिएको सामग्रीमा त्रिपाल, कम्बल, म्याट्रेस, भाँडा सेट, महिला पुरुषका कपडा, बच्चाका कपडा, रुमाल, बाल्टी, डोरी, डिग्नी किट, हाइजेनिक किट, हेल्थ किट, झुलसँगै पानी सुद्धिकरण गर्ने क्लोरिन ट्याबलेटलगायत रहेका छन । राहत सामग्री वितरण गरिएका परिवारलाई घर मर्मत गर्न, काँटा किलाको व्यवस्था गर्न र शौचालय मर्मतका लागि नगद रकम समेत बैंक खातामार्फत उपलब्ध गराइएको शाखाका कोषाध्यक्ष भट्टले जानकारी दिनुभयो ।
_1635927559.jpg)
“भदौ १३ गते आएको बाढीबाट प्रभावित भएका परिवारलाई राहत सामग्री उपलव्ध गराएका छौं” उहाँले भन्नुभयो,“जिल्लाका बाढीबाट प्रभावित भएका २७८ परिवारको अनुसन्धान गरी त्यसबाट छनोट गरिएका १५० परिवारलाई राहत सामग्रीका लागि छनोट गरेका छौं । छनोटमा परेका परिवारलाई राहत सामग्री उपलब्ध गराएका छौं ।”
राहत वितरणका लागि छनोटमा परेका पुर्नवास नगरपालिकाको सिमरीका ११४ परिवारलाई समेत गैरखाद्य, स्वास्थ्य, सरसफाइ सामग्रीसँगै नगद राहत वितरण गरिने उहाँले बताउनुभयो । सिमरीका बाढी प्रभावित परिवारलाई नगद राहत सहयोग उपलब्ध गराइएको उल्लेख गर्दै उहाँले एक दुई दिनभित्रै राहत सामग्री वितरण गरिने बताउनुभयो ।
राहत दिनैपर्ने अवस्थाका ४० परिवारलाई रु १३ हजार ५०० का दरले घर मर्मतका लागि, ४० परिवारलाई रु दुई हजारका दरले किलाकाँटाका लागि र १० परिवारलाई शौचालय मर्मतका लागि नगद सहयोग उपलब्ध गराइएको छ । गैरखाद्य, स्वास्थ्य, सरसफाइ सामग्री अन्तर्गत बाढी प्रभावितलाई एनएफआरई १०० थान, डिग्नी किट ३० थान, हाइजेनिक किट १०० थान र क्लोरिन ट्याबलेट ६० हजार वितरण गरिएको छ ।
_1635927660.jpg)
यही कात्तिक महिनाको पहिलो साता आएको बाढीबाट प्रभावित तत्काल राहत उपलव्ध गराउनुपर्ने २५० दोधारा चाँदनी र भीमदत्त नगरपालिकाका परिवारलाई गैरखाद्य, स्वास्थ्य, सरसफाइ सामग्री समेत रेडक्रसले वितरण गरेको छ । “बेमौसमी वर्षाबाट प्रभावित परिवारको विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ” उहाँले भन्नुभयो, “विवरण सङ्कलन भइसकेपछि राहत वितरणको अगाडि बढाइने छ ।”
-रासस