काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल कसैलाई गृहमन्त्री नबनाइने बताउनुभएको छ ।
आज पेरिसडाँडामा भएको पार्टी पदाधिकारी बैठकमा प्रचण्डले तत्काल कसैलाई गृहमन्त्री नबनाइने बताउनुभएको हो । उहाँले अदालतको पूर्णपाठ नआउँदा सम्म गृहमन्त्रीबारे थप निर्णय नगरिने कुराकानी भएको बताउनुभयो ।
बैठकपछि उपाध्यक्ष कृष्णबहादुर महराले अहिले गृहमन्त्रीको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हाल्नुभएको र त्यही कायम रहने उल्लेख गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीले भने गृहमन्त्री आफूहरूले पाउनुपर्ने अडान राखिरहेको छ ।
गत शुक्रबार नागरिकता मुद्दामा रवि लामिछानेको सांसद पद सर्वोच्चबाट बदर भएको थियो । रविले अमेरिकी नागरिकता त्याग गरे पनि पुनः कायमको प्रक्रिया पूरा भएको देखिएको थिएन । लामिछानेले अस्ति आइतबार नै नेपाली नागरिकता पुनः कायम गरिसक्नुभएको छ ।