• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

अस्पतालबाट नेता खनालको सन्देश : ‘‘पार्टी मिलाउनुस् कमरेड...’’

  • OVN
  • June 16, 2021
अस्पतालबाट नेता खनालको सन्देश : ‘‘पार्टी मिलाउनुस् कमरेड...’’

काठमाडौँ-  थप उपचारका लागि भारतको नयाँ दिल्ली जानुअघि नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई एकताबद्ध बनाउन महासचिव ईश्वर पोखरेललाई आग्रह गर्नुभएको छ। 

थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनाललाई आज महासचिव पोखरेलले भेट गर्नुभएको थियो । ‘‘पार्टी मिलाउनुस् कमरेड...’’ भनी नेता खनालले महासचिव पोखरेललाई आग्रह गर्नुभएको महासचिवका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिनुभयो । एमालेभित्रको विवाद मिलाउन दोस्रो तहका नेताहरु सक्रिय रहेका बेला उच्च नेताबीचमा पनि अनौपचारिक संवाद भइरहेको छ तर निकास निस्किसकेको छैन। 

नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको तथा ज्वरोसँगै स्वास्थ्यमा थकान महसुस हुने, श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि उहाँलाई गत जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो । केही महिनाअघि नेता खनाल कोभिड–१९ सङ्क्रमणमुक्त हुनुभएको थियो।
–रासस

Comments