काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक समीक्षाको तयारी थालेको छ ।
मन्त्रालयले एक समिति नै गठन गरेर समीक्षाको तयारी थालेको जनाएको छ । मन्त्रालयअन्तर्गतको बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको नेतृत्वमा समिति गठन गरिएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो ।
उहाँका अनुसार समितिले गत पुस मसान्तसम्मको बजेट समीक्षाको प्रतिवेदन पेस गर्नुपर्नेछ । समितिले बुझाएको प्रतिवेदनका आधारमा मन्त्रालयले चालू आवको बजेटको समीक्षा गर्नेछ ।
बजेट महाशाखा प्रमुख रितेशकुमार शाक्यको नेतृत्वमा नेपाल राष्ट्र बैंक, योजना आयोग, महालेखा नियन्त्रक कार्यालय, सार्वजनकि ऋण व्यवस्थापन कार्यालयबाट एक÷एक जना प्रतिनिधि, अर्थमन्त्रालयका सबै सहसचिव र बजेट महाशाखाका सबै उपसचिव सदस्य रहेका छन् ।
मन्त्रालयअन्तर्गतका विभिन्न शाखाका आठ/आठ जना सहसचिव र उपसचिव उक्त समितिको सदस्य रहेका छन् । सरकारले चालु आवका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो ।