• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

अपहरण लगत्तै उद्धार, अपहरणकारी पक्राउ

  • OVN
  • June 04, 2021
अपहरण लगत्तै उद्धार, अपहरणकारी पक्राउ

सप्तरी,  अपहरणको खबर पाएलगत्तै सक्रिय बनेको प्रहरीले १५ मिनेटमा अपहरित बालिकाको सकुशल उद्धार गरेको छ। राजविराजबाट अपहरित १४ वर्षीया बालिकालाई रुपनी पुग्नु अगावै इलाका प्रहरी कार्यालयले सकुशल उद्धार गरेको हो। प्रहरीले अपहरणमा आरोपित राजविराज–२ घर भई सुनसरीको भण्टाबारीमा मदिरा पसल सञ्चालक ३५ वर्षीय नबिन देवलाई समेत पक्राउ गरेको छ।

पीडितकी आमाले आज जिल्ला प्रहरी कार्यालयमा आरोपितविरुद्ध उजुरी दिनुभएको छ। राजविराजस्थित घरबाट आरोपितले ललाईफकाई झुक्यानमा पारी छलकपट गरी यिन्त्रणमा राखी अपरहण गरेको पीडितले बयान दिनुभएको छ।

पीडित बालिकाका अनुसार आमाबुबा औषधोपचारका लागि घरबाहिर निक्लिएको मौका छोपी प्रदेश २–०३–०१३ प–४६८२ नम्बरको अपाची मोटरसाइकलमा आएका आरोपितले बुबाको साथी भन्दै बालिकालाई लगेका थिए। आँगनमा निकैबेर बृद्ध हजुरबुबा, हजुरआमासँग कुरा गरेका आरोपितले आफ्नो बुबासँग फोन गरेजस्तो नक्कल गरी विश्वास दिलाएर झुक्याई लगेको बालिकाले बताइन्। बुद्धा हजुरआमाले छोराको साथी भनेर आरोपितले झुक्यानमा पारेको र विश्वासमा परेर बालबालिकालाई पठाएको बताउनुभयो। पीडितका बुबाआमा घर आएपछि सोधखोज गर्दा छोराले कुनै साथीलाई लिन नपठाएको भनेपछि तत्कालै प्रहरीमा जानकारी गराउँदा र प्रहरी पनि सक्रिय हुँदा आरोपित पक्राउ परेको उहाँले बताउनुभयो।

बालिकाका १६ वर्षीय दाजुलाई रावविराज –३ स्थित जिल्ला भूमिसुधार कार्यालय अगाडि ओरालेर बस्दै गर्न भनेपछि दाजुले शंका गरी प्रहरी र आमालाई घटनाबारे जानकारी गराएका थिए। प्रहरीलाई खबर गरेलगत्तै सक्रिय बनेको प्रहरीले चारैतिर नाकामा कडाइ गरी चेकजाँच गर्दा आरोपित पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताउनुभयो।

आरोपित नवीन यसअघि मानव बेचविखन, गर्भपतन, हत्या, कुटपिट, लुटपिट, लागू औषध ओसारपसार, अपहरण,चोरी लगायतका आपराधिक घटनामा संलग्न रहेको स्थानीयवासी बताउँछन्। 
-नानीमैया कटवाल, रासस

Comments