• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

अन्तर बैङ्क एटीएम सेवामा लाग्ने शुल्क घट्यो

  • OVN
  • January 31, 2023
अन्तर बैङ्क एटीएम सेवामा लाग्ने शुल्क घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले अन्तर बैङ्क एटीएम सेवामा लाग्ने शुल्क घटाएको छ । एउटा बैङ्कको एटीएम कार्ड अर्को बैङ्कको एटीएममा प्रयोग गरी पैसा झिक्दा लाग्ने शुल्क अब अधिकतम् १५ रूपैयाँ लाग्ने व्यवस्था गरेको छ । 

क्युआर स्क्यान सहित मोबाइल बैंकिङका माध्यमबाट हुने डिजिटल कारोबारमा रहेको रकमको दैनिक सीमा पनि बढाइएको छ । हालसम्म एउटा बैङ्कले जारी गरेको एटीएम कार्ड अर्को बैङ्क तथा वित्तीय संस्थाको एटीएम प्रयोग गर्दा बैंकहरुले यस्तो कारोबारको शुल्क २० रुपैयाँसम्म लिँदै आएका थिए । 

राष्ट्र बैङ्कले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९ जारी गर्दै सो व्यवस्था लागु गरेको हो । यससँगै, अबदेखि बैङ्क तथा वित्तीय संस्थाले जारी गरेका भुक्तानी कार्ड स्वदेशभित्रै अर्को बैङ्क तथा वित्तीय संस्थाको एटीएम प्रयोग गर्दा प्रतिकारोबार बढीमा १५ रुपैयाँ सम्म शुल्क लाग्नेछ । 

यसअघिसम्म मासिक २ वटा अन्तरबैङ्क एटीएम कारोबार निःशुल्क हुने व्यवस्था थियो । संशोधनपछि मासिक २ वटासम्म कारोबार निःशुल्क पाउने व्यवस्था भने हटाइएको छ । यस्तै, राष्ट्र बैङ्कले विद्युतीय वालेटको माध्यमबाट गरिने रकमान्तर तथा भुक्तानीको सीमामा पनि संशोधन गरेको छ । 

यसअघि बैङ्क खाताबाट वालेटमा प्रतिदिन ५० हजार रुपैयाँसम्म रकमान्तर गर्न सकिने व्यवस्था रहेकोमा त्यसलाई बढाएर प्रतिदिन २ लाख लाख रुपैयाँसम्म रकम पठाउन सकिने व्यवस्था ल्याइएको छ । त्यस्तै, वालेटबाट अन्य बैङ्कको खातामा पनि प्रतिदिन २ लाख रुपैयाँसम्म पठाउन सकिनेछ । यसअघि प्रतिदिन ५० हजार रुपैयाँमात्रै पठाउन सकिने व्यवस्था थियो ।  
 

Comments