• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

आजदेखि पुनः एन्टिजेन परीक्षण शुरु

  • OVN
  • June 03, 2021
आजदेखि पुनः एन्टिजेन परीक्षण शुरु

काठमाडौँ महानगरपालिकाले आजदेखि पुनः एन्टिजेन परीक्षणलाई निरन्तरता दिने भएको छ। कोभिड–१९ को महामारी अझै नियन्त्रण नभएकाले यसको प्रभाव कम नभएसम्म निरन्तर एन्टिजेन परीक्षण गर्ने तयारीअनुरुप आजदेखि परीक्षण कार्यलाई सञ्चालन गरिएको हो।

यसका लागि प्रत्येक वडाले आफूअनुकूल केन्द्र बनाएर परीक्षण गर्ने महानगरपालिकाको जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले जानकारी दिनुभयो। उक्त परीक्षणबाट तत्काल रिपोर्ट आउँछ। त्यसपछि पोजेटिभ देखिएका बिरामीलाई आइसोलेशनका माध्यमबाट समुदायबाट छुट्याउँदै लाने योजनाअनुरुप परीक्षणलाई निरन्तरता दिइएको प्रमुख कुँवरको भनाइ छ।

कोभिडको लक्षण देखिएका, कन्ट्याक्ट ट्रेसिङमा परेका, अग्रपङ्क्तिमा रहेर काम गरिरहेका, निषेधाज्ञाको समयमा काम गरिरहेका र जोखिममा रहेका सबैलाई लक्षित वर्ग मानेर परीक्षणलाई निरन्तरता दिन लागिएको हो। लक्षित समूहमा पर्ने वा शङ्कामा रहेका सबै व्यक्तिलाई आफूलाई पायक पर्ने केन्द्रमा गएर परीक्षण गराउन महानगरपालिकाले आग्रह गरेको छ।

कोरोनाको शङ्का भएका जो–कोहीले महानगरका ३२ वडामध्ये कुन वडामा जानकारी गराउन सहज हुन्छ, सोही वडामा जानकारी गराउनु पर्नेछ। जानकारीअनुरुप परीक्षण टोलीले नजिकको परीक्षण केन्द्रबाट जाँच गर्ने व्यवस्था गरिएको छ। यसअघि यही जेठ १४ देखि १८ गतेसम्म विशेष अभियान नै सञ्चालन गरेर ५० हजारको परीक्षण गर्ने लक्ष्य लिइएको महानगरपालिकामा पाँच हजार ७६० जनाले मात्र परीक्षण गरेका थिए। त्यसमा ४७९ को रिपोर्ट पोजेटिभ आएको तथ्याङ्कमा उल्लेख गरिएको छ।

ठूलो समूहमा परीक्षण गर्ने भने पनि सोही समयमा बन्दाबन्दी कडा बनाइएकाले सोचेअनुरुप परीक्षण हुन नसकेको विभागको भनाइ छ। यसका लागि महानगरपालिकाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग सहकार्य गरेको थियो।

Comments