• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

आज मुलुकभर अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा हुने

  • OVN
  • June 19, 2021
आज मुलुकभर अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा हुने

आज मुलुकभर बदली रही अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुनी वायुको प्रभाव र देशको पश्चिमी भू-भाग नजिक मनसुनी न्युन चापीय रेखाका कारण आज देशका अधिकांश स्थानमा वर्षाका साथै प्रदेश १, बागमती‚ गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भीषण वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज राति प्रदेश १, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना छ ।

अहिले देशभर बदली रही प्रदेश १ र सुदूरपश्चिमलगायतका प्रदेशका केही स्थानमा पानी परिरहेको छ ।

आगामी २४ घण्टामा अधिकांश स्थानमा वर्षा हुने तथा प्रदेश १, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

वर्षाका कारण ती प्रदेशको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती‚ गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भीषण वर्षा र एक वा दुई स्थानहरुमा अति भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भीषण र एक वा दुई स्थानमा अति भीषण वर्षाको सम्भावना छ।

सोमबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका  एक वा दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै‚ राति पनि देशभर मौसम बदली रही देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती‚ गण्डकी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना छ।

Comments