• DoIB Registration No. 2369/077-78
Monday, 27 Apr 2026

उपनिर्वाचनको अनुगमन गर्दै मानवअधिकार आयोग

  • OVN
  • April 21, 2023
उपनिर्वाचनको अनुगमन गर्दै मानवअधिकार आयोग

काठमाडौं । यही वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुनलागेको उपनिर्वाचनमा हुनसक्ने मानवअधिकार उल्लङ्घनका घटनाको विषयमा अनुगमन सुरु गरिएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मिहिर ठाकुरको नेतृत्वमा आएको टोलीले अध्ययन एवम् अनुगमनको काम सुरु गरेको हो ।
 
अनुगमनका क्रममा आज टोलीले मुख्य निर्वाचन अधिकृतको कार्यालय, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखालगायतका विभिन्न सङ्घसंस्थासँग छलफल गरेको छ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखामा आयोजित अन्तरक्रिया कार्यक्रममा सदस्य ठाकुरले निर्वाचनको समयमा मानवअधिकार उल्लङ्घनका घटना सबै पक्षबाट हुने भन्दै यसप्रति सचेत रहन आग्रह गर्नुभयो ।

विशेषगरी तीन प्रकारबाट मानवअधिकार उल्लङ्घनका घटना हुने उहाँको भनाइ थियो । मसलको प्रयोग, शक्तिको प्रयोग र आर्थिक प्रयोग गरेर निर्वाचनमा मानवअधिकार उल्लङ्घनका घटना हुने गरेको उहाँको भनाइ थियो ।

पछिल्लो समय सामाजिक सञ्जालमार्फतसमेत मानवअधिकार उल्लङ्घनका घटना भएको भन्दै उहाँले यसलाई नियन्त्रणका लागि मानवअधिकार आयोग मात्रै नभएर निर्वाचन आयोग र जनता स्वयं चनाखो हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले सरकार र सरोकारवाला निकायलाई भन्ने हो, खवरदारी गरिरहेका छाँै ।”

कार्यक्रममा आयोगका पूर्वसदस्य सुशील प्याकुरेलले सामाजिक सञ्जालमा आएका टिक्काटिप्पणीले मानसिकरुपमा प्रभावित पर्ने भन्दै यस्तो कार्यलाई तत्काल रोक्न निर्वाचन आयोगसँग माग गरिने बताउनुभयो । यस्ता घटनाक्रमले शारीरिक रुपमा नभइ मानसिक रुपमा समस्या पार्ने उहाँको भनाइ थियो । यसलाई समेत मानवअधिकार हनन्को घटनामा राखेर हेर्नुपर्ने उहाँले बताउनुभयो ।
 
उहाँले भन्नुभयो, “मानवअधिकार आयोगले सुन्ने मात्र होइन कानुनको पालना गर्न लगाउनुपर्छ ।” मानवअधिकार आयोग बागमती प्रदेशका सह–सचिव यज्ञ अधिकारीले सामाजिक सञ्जालमा गाली गलैच गर्दा पनि कतिसम्म गर्ने भन्ने विषय ख्याल गर्नुपर्ने बताउनुभयो । 

कसैले व्यक्त गरेको विचारमा अनावश्यक टिक्काटिप्पणी र गालीगलौज गर्न नमिल्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “त्यस्तो भएमा निर्वाचित भए पनि उसलाई पछि फाल्न सकिन्छ ।” मानवअधिकारका विषयमा प्रश्न गर्ने अधिकार सबैमा रहेको उहाँले बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष नारायणप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार दीपेन्द्र वडुवाल, राजेश घिमिरे, कृष्ण आचार्यलगायतले उपनिर्वाचनका क्रममा जिल्लामा भएका गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो । रासस

Comments