• DoIB Registration No. 2369/077-78
Monday, 27 Apr 2026

सरकार पाँचै वर्ष चल्छ : अध्यक्ष नेपाल

  • OVN
  • April 05, 2023
सरकार पाँचै वर्ष चल्छ : अध्यक्ष नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले लोकतान्त्रिक–वाम गठबन्धनको विद्यमान सरकार पाँच वर्षसम्म कायम रहने बताउनुभएको छ । 

पार्टी केन्द्रीय प्रचार विभागद्वारा आज यहाँ आयोजित सम्पादकसँगको नियमित भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष नेपालले विद्यमान सरकारले पाँच वर्ष निरन्तरता पाई मुलुकमा राजनीतिक स्थायित्व कायम हुने धारणा व्यक्त गर्नुभयो ।  

राष्ट्र, राष्ट्रियता, संविधान र शासन प्रणालीको रक्षाका लागि अहिले लोकतान्त्रिक–वाम शक्तिबीच सहकार्य भएको स्पष्ट गर्दै उहाँले केन्द्रमा जस्तै क्रमशः सबै प्रदेशमा लोकतान्त्रिक–वाम गठबन्धन सरकार गठन हुने बताउनुभयो ।  

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास, समृद्धि र सुशासनका पक्षमा मुलुकका वामपन्थी शक्तिबीच सहकार्य, मोर्चा र एकतासम्म हुनसक्ने तर आफूले नेतृत्व गरेको एकीकृत समाजवादी अन्य पार्टी विशेषसँग विलय नहुने अध्यक्ष नेपालले स्पष्ट गर्नुभयो । 

पार्टी महासचिव घनश्याम भुसालले देशव्यापीरूपमा पार्टी सङ्गठन सुदृढीकरण अभियान सञ्चालन भइरहेको जानकारी दिँदै स्पष्ट नीति तथा कार्यक्रमका साथ आमजनताको मन जितेर एक सशक्त एवं सुदृढ वामपन्थी पार्टीका रूपमा एकीकृत समाजवादी पार्टी स्थापित हुने धारणा व्यक्त गर्नुभयो । 

पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षा र भ्रष्टाचारको अन्त्यसहित देश विकास र सुशासनका पक्षमा पार्टी सदैव उभिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Comments