• DoIB Registration No. 2369/077-78
Monday, 27 Apr 2026

बाघलाई नियन्त्रणमा लिन विशेषज्ञसहितको टोली परिचालन

  • OVN
  • April 22, 2023
बाघलाई नियन्त्रणमा लिन विशेषज्ञसहितको टोली परिचालन

कञ्चनपुर । बेलौरी नगरपालिका–८ पचुँइमा महिलाईलाई आक्रमण गरी बेपत्ता बनाउने बाघलाई नियन्त्रणमा लिनका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट विशेषज्ञसहितको टोली परिचालन भएको छ ।

निकुञ्जका डा दिनेश देवकोटासहितको पाँच जनाको टोली बाघलाई डार्ट(बेहोस) गर्नका लागि परिचालन भएको छ । बर्दिया निकुञ्जको टोलीसँगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सवडिभिजन वन कार्यालय कुण्डाको वन सुरक्षाकर्मीको टोली बाघ नियन्त्रण गर्नका लागि शुक्रबारदेखि नै परिचालन भएको छ ।

“शुक्रबारनै बाघलाई नियन्त्रणमा लिनका लागि धेरै प्रयास ग-यौँ, राति भइसकेकाले डार्टन गर्न सकिएन”, सवडिभिजन वन कार्यालय कुण्डाका प्रमुख दिनेशकुमार यादवले भन्नुभयो, “अग्लो घाँस हुँदा बाघलाई नियन्त्रमा लिन गाह्रो भएको छ”, दुई दुई मिटरको दूरीमा घेरा हालेर बाघलाई नियन्त्रणमा लिने प्रयास गर्दा पनि सफल हुन नसकेको उहाँले बताउनुभयो । उहाँका अनुसार बाघ अहिले पनि सोही क्षेत्रमा देखिए पनि बेपत्ता महिला भने फेला पर्न सकेकि छैनन् । बाघ नियन्त्रण गर्नका लागि पुनः टोली केही छिनमै परिचालन हुन लागेको प्रमुख यादवले जानकारी गराउनुभयो ।

शुक्रबार बिहान ९ बजे खेतमा घाँस काटदै गरेकी स्थानीय अन्दाजी ४५ वर्षीया गङ्गादेवी चन्दलाई बाघले आक्रमण गरी बेपत्ता बनाएको थियो । बाघले महिलालाई आक्रमण गरी लगेपछि खोजीका लागि प्रहरी, सशस्त्र प्रहरी र स्थानिय बासिन्दाले खोजीको तीव्र बनाए पनि महिलालाई अझै पनि फेला पार्न सकेका छैनन् ।

भारतीय दुधुवा नेशनल पार्कबाट बाघ नेपाली बस्तीमा पसेको बताइएको छ । सीमा क्षेत्रमा दिउँसै ओहरदोहर गर्दै आएको बाघले महिलालाई आक्रमण गरी बेपत्ता बनाए पछि यस क्षेत्रको जनजीवन त्रसित भएको छ । रासस

Comments